नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार आवश्यक रहेको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्ष खेर नफाल्ने संकल्प र योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए। त्यसलाई सम्बोधन गर्न सुधार अपरिहार्य रहेको उनको भनाइ छ।
उनका अनुसार विगत १०–१२ वर्षमा अपेक्षित विकास हुन सकेन, तर अबका पाँच वर्ष खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको बताए।
सभापति थापाले राजनीतिक दलहरूबीच विमति र प्रतिस्पर्धा भए पनि देश निर्माणका लागि सबै दलको भूमिका आवश्यक हुने बताए। देशमा रहेका सबै राजनीतिक शक्तिलाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता भएको र त्यसको नेतृत्व नेपाली काँग्रेसले गर्ने दाबी गरे।
आगामी निर्वाचनबाट ‘पपुलिस्ट’ शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने चेतावनी दिँदै उनले हालको प्रमुख चुनौती देशलाई पपुलिज्मबाट जोगाउनु रहेको बताए। परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उनले नेपालजस्तो संस्थागत रूपमा अझै बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने धारणा राखे।
बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरूलाई पपुलिज्मविरुद्ध बोल्न आग्रह गर्दै उनले प्रश्न गर्न पछि नहट्न आग्रह गरे। सत्तामा नपुग्दै प्रश्न गर्न नदिने प्रवृत्ति भएका शक्तिहरू सत्तामा पुगेपछि प्रश्न गर्ने अधिकार झन् सङ्कुचित हुन सक्ने उनले चेतावनी दिए।







प्रतिक्रिया