भोजपुरमा नेपाली सेनाको बस दुर्घटना, २४ सैनिक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न जाँदै गरेको सेनाको टोली दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

नयाँ श्रीनाथ गण भोजपुरबाट हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनामा परी २४ जना सैनिक जवान घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको भोजपुर प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षाका लागि परिचालन हुन लागेको टोली नै दुर्घटनामा परेपछि स्थानीय प्रशासनले उद्धार कार्यलाई तीव्रता दिएको छ।