कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाइयो मतपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। यस अन्तर्गत एक करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको आयोगले जनाएको छ।

डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम र भोजपुरका मतपत्र छपाइ सकिएको छ।

त्यसैगरी ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र पनि छपाइ भइसकेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई प्याकिङसमेत सकिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गते बिहानदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको हो।