नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा आयोजना गरेको जिल्लास्तरीय बृहत् भेलालाई सम्बोधन गर्दै उनले देशलाई विषम परिस्थितिबाट निकास दिन सक्ने शक्तिको पक्षमा मत दिन आग्रह गरे।
‘आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुछ, ०६४ मा झैं गल्ती गर्ने कि ०७० मा झैं विवेक पुर्याउने ?’ भन्दै उनले मूल प्रश्न कुन दलले जित्ने भन्ने नभई देशलाई नयाँ निकासमा कसले पुर्याउन सक्छ भन्ने रहेको बताए।
उनले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कांग्रेस दोस्रो दल बनेपछि चार वर्षसम्म संविधान बन्न नसकेको स्मरण गरे। तर २०७० को दोस्रो निर्वाचनमा कांग्रेस पहिलो दल बन्दा दुई वर्षमै संविधान जारी भएको उनले उल्लेख गरे।
शर्माले इतिहासका हरेक मोडमा विभिन्न शक्ति, दल र समुदायबीच समन्वय गर्दै निकास दिएको दाबी गर्दै अब नयाँ पुस्तासहितको समन्वयबाट देशलाई नयाँ विश्वासको चरणमा पुर्याउन कांग्रेस सक्षम रहेको बताए।







प्रतिक्रिया