राष्ट्रिय सभा बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरिएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकमा उपस्थित सदस्यहरूले उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेका हुन्।
यसअघि माघ २३ गते बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाले सामाजिक सञ्जाल विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
सोही बैठकले पर्यटन विधेयक २०८१ लाई भने पारित गरेको छ। बैठकको प्रारम्भमा राष्ट्रिय सभामा ६ वर्षे कार्यकाल सकिन लागेका सदस्यहरूले आफ्नो कार्यकालका दौरान गरेका काम तथा अनुभवहरू पनि साझा गरेका थिए।
त्यसैगरी बैठकले राष्ट्रिय सभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनप्रति शोक प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरेको छ।
राष्ट्रिय सभाको अर्को बैठक माघ २८ गते बुधबार बस्ने गरी बोलाइएको छ।







प्रतिक्रिया