आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले अपराध अनुसन्धानमा नयाँ चुनौती थपेको निष्कर्ष निकालिएको छ। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीदेखि अन्य वक्ताहरूले एआईका कारण अपराध अनुसन्धान थप जटिल बन्दै गएको बताएका हुन्।
‘अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका’ विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै आईजीपी कार्कीले बदलिँदो प्रविधिगत परिवेशमा एआईमार्फत हुने डिपफेक सामग्रीले अपराध अनुसन्धान नै प्रभावित हुनसक्ने गम्भीर जोखिम औंल्याए। उनले यस्ता चुनौती सामना गर्न प्रहरीले नै एड्भान्स एनालिटिक सेल गठन गर्नुपर्ने अवस्था आएको बताए।
अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी सुशील सिंह राठौरले मिसइन्फरमेशन, डिसइन्फरमेशन र डिपफेकका कारण अपराध अनुसन्धानमा मुख्य रूपमा चार प्रकारका समस्या देखिन सक्ने बताए। उनका अनुसार यस्ता सामग्रीका कारण अपराध अनुसन्धानमा जटिलता आउने, सामाजिक अशान्ति तथा हिंसाको सम्भावना बढ्ने, प्रहरीप्रतिको विश्वसनीयतामा कमी आउन सक्ने र दोषी पहिचानमा अवरोध सिर्जना हुन सक्छ।
त्यसैगरी पूर्वएआईजी सुरेन्द्र बहादुर शाहले पनि डिपफेक तथा गलत सूचनाका कारण अपराध अनुसन्धान प्रभावित हुनुका साथै प्रहरीको विश्वसनीयतामै प्रश्न उठ्न सक्ने बताए। उनले यस्ता भ्रम र अफवाहलाई समयमै चिर्न प्रहरीले छिटो र तथ्यगत सूचना सार्वजनिक गर्नुपर्नेमा जोड दिए। प्रहरीप्रति भरोसा गर्ने वातावरण कमजोर बन्दै गएकोप्रति ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो।
पूर्वएआईजी बमबहादुर भण्डारीले भने बाह्य मुलुकहरूमा अफवाह र प्रोपागाण्डाविरुद्ध लड्न ह्युमन इन्टेलिजेन्स र टेक्निकल इन्टेलिजेन्सका छुट्टाछुट्टै युनिट रहने अभ्यास रहेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै संरचना आवश्यक रहेको सुझाव दिए।
उनले टेक्निकल इन्टेलिजेन्स बिना प्रहरी प्रो–एक्टिभ हुन नसक्ने स्पष्ट पार्दै भने, “ह्युमन इन्टेलिजेन्स मात्र हुँदा प्रहरी रिएक्टिभ हुन्छ। प्रहरीलाई प्रो–एक्टिभ बनाउन छुट्टै टेक्निकल इन्टेलिजेन्स अत्यावश्यक छ।”
अन्तर्क्रियामा सहभागी वक्ताहरूले प्रविधिको तीव्र विकाससँगै एआईबाट उत्पन्न हुने जोखिमलाई व्यवस्थापन गर्न प्रहरी संगठनले रणनीतिक, प्रविधिमैत्री र संस्थागत सुधारतर्फ ध्यान दिनुपर्ने निष्कर्ष निकालेका छन्।







प्रतिक्रिया