अस्ट्रेलियामा भएको एक दर्दनाक गाडी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। अस्ट्रेलियाको पर्थ शहरमा शुक्रबार मध्यराति गाडी अनियन्त्रित भएर घरभित्र पस्दा ५३ वर्षीया नेपाली महिला विष्णुकुमारी गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
अस्ट्रेलियाबाट प्रकाशित हुने अनलाइन एबिसी न्युजका अनुसार दुर्घटना शुक्रबार राति करिब ११:४० बजे भएको थियो। अलेक्जेन्डर रोड हुँदै रिभरभेल क्षेत्रतर्फ जाँदै गरेको कार अचानक अनियन्त्रित भई एक घरमा ठोक्किँदै घरभित्रै छिरेको प्रहरीले जनाएको छ।
दुर्घटनाको समयमा विष्णुकुमारी गुरुङ उक्त घरको अगाडिको कोठामा सुतिरहेकी थिइन्। कार सीधै घरभित्र पसेपछि उनी गम्भीर घाइते भइ घटनास्थलमै ज्यान गुमाएको बताइएको छ।
एबिसी न्युजका अनुसार विष्णुकुमारी केही दिनअघि मात्रै अस्ट्रेलिया पुगेकी थिइन्। उनी छोरी र ज्वाइँसँग बस्दै आएकी थिइन्। छोरीले सन्तान जन्माएपछि हेरचाहका लागि उनी अस्ट्रेलिया गएको परिवारजनले बताएका छन्।
आइतबार सञ्चारमाध्यमसँग कुरा गर्दै मृतककी छोरी निशा गुरुङले परिवार गहिरो शोकमा रहेको बताइन्। “आमा सुतिरहनुभएको थियो। यो सबै घटना नराम्रो सपनाजस्तो लागिरहेको छ,” उनले एबिसी न्युजसँग भनिन्।
निशाका एक छिमेकीका अनुसार दुर्घटनाको आवाज विमान खसेजस्तै ठूलो थियो। “छतमा विमान खसेजस्तो लाग्यो। बाहिर निस्केर हेर्दा घरमा कार ठोक्किएको थियो,” उनले बताए। केही मिनेटमै प्रहरी, एम्बुलेन्स र दमकल घटनास्थलमा पुगेको उनले बताए।
प्रहरीले कार चालक ३६ वर्षीय राइस हकिन्सलाई शनिबार पक्राउ गरेको छ। दुर्घटनामा उनलाई भने कुनै चोट नलागेको एबिसी न्युजले उल्लेख गरेको छ। आइतबार अदालतमा उपस्थित गराइएका हकिन्सलाई धरौटीमा छाड्न अस्वीकार गरिएको छ भने उनको अर्को सुनुवाइ फेब्रुअरी १८ मा तोकिएको छ।
घटनाले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।







प्रतिक्रिया