पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले फुयाललाई साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो। उनी बिहीबार विशेष अदालतमा उपस्थित भएपछि सो आदेश दिइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले उक्त प्रकरणमा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।
अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा निर्माण गरिएको राष्ट्रिय गौरवको आयोजना हो। यस आयोजनासँग जोडिएको अनियमितता प्रकरणलाई लिएर सार्वजनिक चासो उच्च रहेको अवस्थामा अदालतको पछिल्लो आदेश आएको छ।







प्रतिक्रिया