फागुन २१ को प्रतिनिधिसभा निर्वाचन: आयोगले ९ प्रकारका सामग्री केन्द्रबाट पठाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने तयारी गरेको छ। यसका साथै ३७ प्रकारका अन्य निर्वाचन सामग्री भने जिल्लास्तरमै व्यवस्थापन गरिने भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले राससलाई जानकारी दिँदै आयोगले केन्द्रबाट पठाइने र जिल्लामा व्यवस्थापन गरिने सामग्रीको सूची तय गरी तयारी अघि बढाएको बताए।

उनका अनुसार केन्द्रबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम तथा मतदान केन्द्रका लागि सुरक्षणशील सामग्री, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटिका स्टीकर समावेश छन्।

यसैगरी जिल्लामा व्यवस्थापन गरिने निर्वाचन सामग्रीमा सिलिङ बक्स, विभिन्न अनुसूची फारम, पुसपिन, पोल बुकको काम गर्ने डायरी, मार्कर पेन, स्केल, स्टापलर मेसिन र पिन, कैंची, ग्लुस्टिक, सोसर (काउन्टिङ डम्पर), पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, पुरुष तथा महिला कार्ड, मतदाता क्रमसङ्ख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप रहेका छन्।

त्यसैगरी नेपाली कागजको खाम (१०×१५ इन्च), कपडाको नेपाली खाम (निबिदा मतपत्र राख्न), सेतो कागज (ए–फोर) ३० पाना, फित्तासहितको रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाइ, दुई मिटरको कोरा कपडा, कालो र रातो जेल पेन तथा चारवटाको मैनबत्तीको प्याकेट पनि जिल्लामै व्यवस्थापन गरिने सामग्रीमा सूचीकृत गरिएको आयोगले जनाएको छ।

निर्वाचनलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न आवश्यक सबै सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर तयारी भइरहेको आयोगको भनाइ छ।