युरोपेली युनियन (EU) का नियामक निकायहरूले सामाजिक सञ्जाल टिकटकको डिजाइन प्रयोगकर्तालाई अत्यधिक रूपमा बाँधेर राख्ने र ‘लत’ सिर्जना गर्ने खालको रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन्। जारी अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै युनियनले टिकटकको हालको स्वरूपले ‘डिजिटल सर्भिस एक्ट’ (DSA) को उल्लंघन गरेको आरोप लगाएको हो।
नियामकहरूले विशेष गरी टिकटकको इन्फिनिट स्क्रोल (लगातार भिडियो आइरहने प्रणाली), अटो प्ले, पुस नोटिफिकेसन तथा प्रयोगकर्ताको रुचिअनुसार सामग्री देखाउने ‘रिकमेन्डर सिस्टम’ माथि प्रश्न उठाएका छन्। यस्ता फिचरहरूले प्रयोगकर्तालाई लामो समयसम्म स्क्रोल गरिरहन उक्साउने र त्यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने युनियनको दाबी छ।
युरोपेली युनियनका अनुसार टिकटकले नयाँ सामग्रीहरू निरन्तर देखाएर प्रयोगकर्ताको मस्तिष्कलाई ‘अटोपाइलट मोड’ मा लैजान्छ, जसले मानसिक स्वास्थ्यका दृष्टिले चिन्ताजनक अवस्था सिर्जना गर्न सक्छ। तर, यस्ता सम्भावित जोखिम कम गर्न टिकटकले पर्याप्त सुरक्षा उपायहरू नअपनाएको आरोप नियामकहरूले लगाएका छन्।
यद्यपि टिकटकले भने युनियनको आरोपलाई अस्वीकार गर्दै ती दाबीहरू गलत र आधारहीन भएको प्रतिक्रिया दिएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताको सुरक्षा र भलाइलाई ध्यानमा राखेर विभिन्न उपायहरू अपनाइँदै आएको छ।
अबको केही समयपछि यस अनुसन्धानको पूर्ण निष्कर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ। यदि प्रारम्भिक निष्कर्ष पुष्टि भएमा टिकटकले ठूलो रकमको जरिवाना तिर्नुपर्ने मात्र होइन, कानुनी मापदण्ड पूरा गर्न आफ्नो एपको आधारभूत डिजाइनमै परिवर्तन गर्नुपर्ने सम्भावना रहेको छ।







प्रतिक्रिया