भाषण होइन, काम गर्नेलाई मौका दिनुस् : उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र गर्ने होइन, काम गर्नेलाई जिताएर एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन्। शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकनका क्रममा पूर्वमन्त्री समेत रहेका घिसिङले आफू काम गर्ने पात्र भएकाले भोट दिएर मौका दिन आग्रह गरेका हुन्।

अध्यक्ष घिसिङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू देश बदल्ने इच्छाशक्ति र क्षमतासहित अघि बढिरहेको दाबी गरे। ‘पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरे,’ उनले भने, ‘जनताको वास्तविक हितका लागि अब युवा नेतृत्व आवश्यक छ।’

काम नगर्ने र जनतालाई छल्नेहरूको समय सकिएको टिप्पणी गर्दै उनले भने, ‘जो काम गर्छ, उही जनताको प्रिय बन्छ। काम गर्ने नै साँचो जननेता कहलिन्छ।’

उनले गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ, विद्युतीकरणलगायतका पूर्वाधार विकासमा उज्यालो नेपाल पार्टीले प्राथमिकताका साथ काम गर्ने दाबी गरे। देशको अर्थतन्त्र उकास्ने स्पष्ट योजना आफूसँग रहेको उल्लेख गर्दै अध्यक्ष घिसिङले जनताले परिवर्तनका लागि नयाँ शक्तिलाई अवसर दिनुपर्ने बताए।