भारतको मेघालय राज्यमा रहेको कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ।
बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा आगलागी हुँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र उनका २४ वर्षीय भाइ सुरेन्द्र खपाङ्गीको ज्यान गएको हो।
घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी तथा उदयपुर साउनेका ललित मगर घाइते भएका छन्। सात जनाको समूहमा रहेका बराहपोखरी बालम्पाका ताराबल मगर भने सकुशल रहेको जनाइएको छ।
ताराबल मगरले नै फोनमार्फत घटनाबारे जानकारी दिएको छिमेकी शिवकुमार श्रेष्ठले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
रोजगारीका लागि उनीहरू गत पुस ३ गते मेघालय गएका थिए। खोटाङका विभिन्न स्थानका स्थानीयहरू रोजगारीका लागि मेघालय जाने गरेका छन्।
बीबीसीका अनुसार, सो घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २–२ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइने पनि उनले बताएका छन्।







प्रतिक्रिया