नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड भएको बताएका छन् ।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गर्न टेलिकमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमको योगदान स्मरणीय र प्रशंसनीय रहेको उनको भनाइ थियो ।

‘नेपाल टेलिकम केवल दूरसञ्चार कम्पनी मात्र होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्‍याउँदै यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ,’ गृहमन्त्री अर्यालले भने ।

उनले हाल दूरसञ्चार सेवा मानव जीवनको आधारभूत आवश्यकता बनिसकेको भन्दै शैक्षिक, सामाजिक तथा आर्थिक विकासका लागि यो महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको बताए ।

सेवाग्राहीले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा पाउनु आफ्नो हक र अधिकार भएको उल्लेख गर्दै उनले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

‘सन्तुष्ट ग्राहक नै कम्पनीको दीगो विकास र स्थायित्वको आधार हो । आगामी दिनमा पनि नेपाल टेलिकमले नयाँ–नयाँ प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रवाह गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।