डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाखभन्दा बढी मानिसलाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा हवाई आक्रमण भएको जनाएको छ ।
आक्रमणका क्रममा अस्पतालको मुख्य गोदाम पूर्ण रूपमा नष्ट हुँदा उपचारका लागि आवश्यक अधिकांश सामग्रीहरू नष्ट भएको एमएसएफले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
एमएसएफका अनुसार दक्षिण सुडानमा हवाई आक्रमण गर्ने क्षमता भएको सशस्त्र समूह सरकारअन्तर्गतको दक्षिण सुडानी सेना मात्र रहेको छ । संयुक्त राष्ट्रसंघले भने महिनौँदेखि जारी द्वन्द्वका कारण देशमा पुनः गृहयुद्ध चर्किने खतरा बढेको चेतावनी दिएको छ ।
इथियोपियाको सीमासँग जोडिएको देशको पूर्वी क्षेत्र जोङ्लेईमा टुलो लडाइँ जारी छ, जहाँ सरकारी सेनाले सुडान पिपुल्स लिबरेसन आर्मीका वफादार लडाकुहरूको आक्रमण रोक्ने प्रयास गरिरहेको बताइएको छ ।
लन्किएनस्थित अस्पतालमा भएको हवाई आक्रमणमा एक जना कर्मचारी सामान्य घाइते भएका छन् । सम्भावित आक्रमणको सूचना पाएपछि केही घण्टा अगावै अस्पताल खाली गरिएकाले बिरामीहरूलाई सुरक्षित रूपमा डिस्चार्ज गरिएको एमएसएफले जनाएको छ ।
गत महिना दक्षिण सुडानी सेनाले संयुक्त राष्ट्रसंघीय मिसन र परोपकारी संस्थाका कर्मचारी तथा नागरिकलाई विपक्षी शक्तिविरुद्धको कारबाहीअघि जोङ्लेईका तीन काउन्टी खाली गर्न आदेश दिएको थियो ।
संयुक्त राष्ट्रसंघीय मिसनका अनुसार हालैको लडाइँका कारण जोङ्लेईमा कम्तीमा १ लाख ८० हजार मानिस विस्थापित भएका छन् । सन् २०१३ देखि २०१८ सम्म चलेको गृहयुद्धमा करिब ४ लाख मानिसको ज्यान गएको थियो ।







प्रतिक्रिया