२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रभाव हुम्लामा पनि देखिन थालेको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर मत माग्न थालेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जस्ता पुराना दलहरू चुनावी अभियानमा सक्रिय देखिएका छन् । यी तीनै दलका उम्मेदवारले सिमकोट गाउँपालिका–५ को तल्लो गाउँ चौपाडीबाट चुनावी अभियान सुरु गरेका छन् ।
यता, वैकल्पिक शक्ति दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि घरदैलो अभियानमा जुटेको छ । रास्वपाकी उम्मेदवार टासी ल्हाजोमले दक्षिण हुम्लाको ताजाँकोटबाट आफ्नो चुनावी अभियान थालेकी हुन् । यद्यपि उम्मेदवारहरू सक्रिय देखिए पनि हुम्लाका मतदातामा भने चुनावप्रति खासै उत्साह देखिएको छैन ।
हुम्लामा पटक–पटक मत परिवर्तन
२०४६ पछि भएका संसदीय निर्वाचनहरूमा हुम्लाका मतदाताले पटक–पटक मत परिवर्तन गर्दै आएका छन् । संयुक्त जनमोर्चादेखि स्वतन्त्र उम्मेदवार, कांग्रेस, एमाले, माओवादीसम्म विभिन्न दल र व्यक्तिले यहाँबाट निर्वाचन जितेका छन् ।
२०४८ सालको पहिलो आम निर्वाचनमा संयुक्त जनमोर्चा नेपालका छक्कबहादुर लामा निर्वाचित भएका थिए । २०५१ मा कांग्रेसका चक्रबहादुर शाही, २०५६ मा एमालेका गोरखबहादुर बोगटी, २०६४ मा माओवादी केन्द्रका कर्णजित बुढाथोकी विजयी भए । २०७४ मा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा र २०७९ मा कांग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका छिरिङ दम्डुल लामा (कार्चेन) निर्वाचित भएका थिए ।
यसपटक को बलियो ?
आगामी निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि रास्वपा र प्रगतिशील प्रजातन्त्र पार्टी (प्रलोपा) ले पनि चुनौती दिने तयारी गरेका छन् ।
कांग्रेसबाट जयपति रोकाया, एमालेबाट दल फडेरा, नेकपाबाट डा. दीपेन्द्र रोकाया र रास्वपाबाट टासी ल्हाजोम उम्मेदवार छन् । प्रलोपा, नेत्रविक्रम चन्द निकट माओवादी र राप्रपाले पनि आ–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् ।
हुम्लाको प्रदेश (क) मा १९ हजार ४१९ र प्रदेश (ख) मा १४ हजार ९५३ मतदाता रहेका छन् । पटक–पटक मत बदल्ने हुम्लाका मतदाताले यसपटक कसलाई विश्वास गर्लान् भन्ने चासो बढ्दो छ ।







प्रतिक्रिया