इलन मस्क बने इतिहासकै सबैभन्दा धनी व्यक्ति, सम्पत्ति ८५० अर्ब डलर नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ८५० अर्ब अमेरिकी डलर (झण्डै ७७ लाख करोड रुपैयाँ) नाघेको छ। एकै दिनमा उनको नेटवर्थ ८४ अर्ब डलर अर्थात करिब ७ लाख करोड रुपैयाँले बढेको फोर्ब्सले जनाएको छ।

फोर्ब्सका अनुसार मस्क इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका हुन्। उनको सम्पत्तिमा आएको यो ठूलो उछाल रकेट निर्माण कम्पनी स्पेसएक्स र आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईबीच भएको मर्जरका कारण भएको हो।

पछिल्ला चार महिनामै मस्कको नेटवर्थ ७० प्रतिशतले बढेको छ। सन् २०२५ को अक्टोबरमा उनको सम्पत्ति ५०० अर्ब डलर पुगेको थियो। हाल उनको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा बढी भएको छ। यो भारतका शीर्ष ४० धनी व्यक्तिको संयुक्त सम्पत्तिभन्दा पनि बढी हो।

स्पेसएक्स–एक्सएआई मर्जरपछि १.२५ ट्रिलियन डलरको कम्पनी

इलन मस्कको रकेट कम्पनी स्पेसएक्सले उनकी एआई कम्पनी एक्सएआईलाई खरिद गरेपछि दुवै कम्पनी एकीकृत भएका छन्। मर्जरपछि बनेको नयाँ कम्पनीको कुल मूल्य १.२५ ट्रिलियन डलर (करिब १०४ लाख करोड रुपैयाँ) आँकलन गरिएको छ।

मर्जरअघि स्पेसएक्समा मस्कको ४२ प्रतिशत हिस्सेदारी थियो, जसको मूल्य ३३६ अर्ब डलर थियो। एक्सएआईमा उनको ४९ प्रतिशत हिस्सेदारीको मूल्य १२२ अर्ब डलर थियो। मर्जरपछि बनेको नयाँ कम्पनीमा मस्कको हिस्सेदारी ४३ प्रतिशत पुगेको छ, जसको मूल्य मात्र ५४२ अर्ब डलर रहेको छ।

चार महिनामा मस्कका चार ठूला रेकर्ड

  • अक्टोबर २०२५: विश्वकै पहिलो ५०० अर्ब डलर सम्पत्तिवाला व्यक्ति बने।
  • १५ डिसेम्बर: स्पेसएक्सको मूल्यांकन बढेसँगै सम्पत्ति ६०० अर्ब डलर नाघ्यो।
  • १९ डिसेम्बर: अदालतबाट टेस्लाका स्टक अप्सन पुनः बहाल भएपछि ७०० अर्ब डलर क्लबमा प्रवेश।
  • जनवरी २०२६: स्पेसएक्स–एक्सएआई मर्जरपछि कुल सम्पत्ति ८५० अर्ब डलर पुग्यो।

अन्य धनीहरूसँगको दूरी झन् बढ्यो

मस्क र दोस्रो नम्बरमा रहेका धनी व्यक्तिबीचको अन्तर तीन गुणाभन्दा बढी भएको छ। गुगलका सह–संस्थापक ल्यारी पेज २८१ अर्ब डलर सम्पत्तिसहित दोस्रो स्थानमा छन्। मस्क उनीभन्दा ५७८ अर्ब डलरले धनी छन्।

यही गतिमा सम्पत्ति बढिरहे उनी छिट्टै विश्वकै पहिलो ‘ट्रिलियनेयर’ (१,००० अर्ब डलर सम्पत्ति) बन्न सक्ने अनुमान गरिएको छ।

मस्कका प्रमुख कम्पनीहरू

टेस्ला
सन् २००३ मा स्थापना भएको टेस्लाको लक्ष्य इलेक्ट्रिक गाडीलाई आम प्रयोगमा ल्याउने र दिगो ऊर्जालाई प्रवर्द्धन गर्नु हो। मस्क २००४ मा ठूलो लगानी गरेपछि कम्पनीका चेयरम्यान तथा पछि सीईओ बने।

स्पेसएक्स
सन् २००२ मा स्थापना भएको स्पेसएक्सले अन्तरिक्ष प्रक्षेपणको लागत घटाउने र मंगल ग्रहमा मानव बस्ती बसाउने लक्ष्य लिएको छ।

न्यूरालिङ्क
सन् २०१६ मा स्थापना गरिएको न्यूरालिङ्कले मानव मस्तिष्क र कम्प्युटर जोड्ने ब्रेन–मेसिन इन्टरफेस प्रविधि विकास गरिरहेको छ।