आगलागीपछि ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको ज्यान गएको छ। घटना भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने स्थानमा भएको हो।
राति सुतेकै समयमा अचानक पसलमा आगलागी हुँदा त्यहाँ राखिएका ग्यास सिलिन्डर विस्फोट भएको बताइएको छ। विस्फोटमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक तथा ४७ वर्षीय काशिराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विकको मृत्यु भएको आफन्त प्रेम विकले जानकारी दिए।
उनका अनुसार धनबहादुर विक र काशिराम विकका परिवार पसलमाथिको कोठामा बस्दै आएका थिए। कामबाट फर्किएर सुतेको अवस्थामा २७ गते राति आगलागी भएको हो। सिलिन्डर विस्फोटका कारण मृतकहरूको शव अत्यन्तै क्षतविक्षत भएकाले चिन्न समेत नसकिने अवस्थामा रहेको उनले बताए।
आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका प्रेम विकसहित चार जनाको परिवार भने भागेर ज्यान जोगाउन सफल भएका छन्। हाल हिमाचल प्रदेशको सोलान जिल्लाका सुरक्षाकर्मीहरू घटनास्थलमा शव संकलनको काममा जुटिरहेका छन्। विस्फोटका कारण शव संकलन गर्न कठिनाइ भइरहेको बताइएको छ।
घरको आर्थिक अवस्था कमजोर भएकाले मृतक परिवारसहित टाकुरा बस्तीका केही परिवार करिब अढाई वर्षअघि भारत गएर मजदुरी गर्दै आएका थिए। दुई छाक खानसमेत समस्या भएपछि उनीहरू भारत जान बाध्य भएको स्थानीयले बताएका छन्।
सिद्धकुमाख–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले घटनापछि पूरा वडा शोकमा डुबेको बताए। दुई परिवारका ९ जनाको एकैचोटि मृत्यु भएपछि मंगलबार शोक बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए।
उनले सरकारले आफ्नै गाउँठाउँमा रोजगारीको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएका नागरिक भारतलगायत विभिन्न स्थानमा मजदुरी गर्न जान बाध्य भएको र यस्ता दुर्घटनामा ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको दुःख व्यक्त गरे।
शव संकलनको काम जारी रहेकाले मृतकहरूको दाहसंस्कार भारतमै गर्ने कि नेपाल ल्याउने भन्ने विषयमा त्यहाँ रहेका स्थानीयसँग छलफल भइरहेको वडाध्यक्ष बुढाथोकीले बताए।








प्रतिक्रिया