पत्रकार अजय गोर्खालीको रहस्यमय मृत्युको विषयमा प्रहरीले सोमबार प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। तर, उक्त प्रतिवेदनप्रति मृतक गोर्खालीको परिवारले असन्तुष्टि जनाएका छन्।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सदस्य गोर्खालीको गत मङ्सिर २० गते मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार घटनासम्बन्धी अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार, मङ्सिर १९ गते बेलुका करिब साढे ४ बजेको समयमा गोर्खालीलाई नाङ्गो अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनलाई वडा प्रहरी कार्यालय लगिएको र त्यहाँ उनले हात, खुट्टा र टाउको भित्तामा ठोक्दै आफैँलाई हानि पुर्याउने प्रयास गरेपछि उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ। उपचारकै क्रममा मङ्सिर २० गते बिहान ६ः४० बजे उनको मृत्यु भएको हो।
नवलपुरको गैंडाकोट नगरपालिका–८ स्थायी घर भई भरतपुर–१० चौबिसकोठीमा डेरा गरी बस्दै आएका गोर्खालीको मृत्यु भएको भोलिपल्ट मात्र पहिचान खुलेको थियो। खनालका अनुसार घटनासँग सम्बन्धित सिसीक्यामरा फुटेज, प्रत्यक्षदर्शी र संलग्न व्यक्तिहरूको बयान कागज गरिएको छ।
सिसीक्यामरामा गोर्खालीलाई लखेटिरहेको देखिएका भरतपुर–१ का २१ वर्षीय अमृत तामाङलाई प्रहरीले पक्राउ गरेको छ। बयानमा तामाङले अपाङ्गता भएका भाइसँग मागी खाइरहेको बेला गोर्खालीले सामानमा लात्ती हानेपछि आफू पछ्याएको बताएका छन्। उनले गोर्खालीलाई कसैले कुटपिट नगरेको र उनी आफैँले टाउको भित्तामा ठोक्ने, हात मुखमा हालेर उल्टी जस्तो गर्ने गरेको बताएका छन्।
प्रहरीले घटनाका अन्य आठ जना प्रत्यक्षदर्शीको पनि बयान लिएको जनाएको छ। प्रत्यक्षदर्शीहरूले गोर्खालीलाई कसैले कुटपिट नगरेको बयान दिएका छन्। वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत सई प्रभाकर खड्काले पुलचोक क्षेत्रमा गोर्खालीलाई नाङ्गै लडीबुडी गरिरहेको अवस्थामा भेटिएको र सुरक्षाका लागि हतकडी लगाएर, हेलमेट लगाई अस्पताल पुर्याइएको बताएका छन्।
पोष्टमार्टम रिपोर्टमा गोर्खालीको मृत्यु टाउकोमा भुत्ते वस्तुबाट लागेको चोटका कारण भएको उल्लेख छ। शरीरका विभिन्न भागमा दधारिएका घाउहरू रहेको र रगतको परीक्षण (भिसेरा रिपोर्ट) आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट भित्ता, जमिन वा ठुलो सतहमा टाउको ठोक्किँदा मृत्यु भएको देखिए पनि थप अनुसन्धान जारी रहेको खनालले बताए।
यसैबीच, मृतकका बुबा गोपाल परियारले प्रहरीले गरिरहेको अनुसन्धानप्रति गम्भीर शङ्का व्यक्त गरेका छन्। छोरो नाङ्गै हिँड्नुपर्ने अवस्था किन आयो र वडा प्रहरी कार्यालयभित्रको सिसीक्यामरा फुटेज सार्वजनिक गर्नुपर्ने माग गर्दै उनले भने, ‘प्रहरीको नियन्त्रणमा पुगेपछि पनि मेरो छोरो किन मर्नुपर्ने अवस्था बन्यो ?’
प्रहरी उपरीक्षक गोविन्द पुरीले घटनाको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिइएको र दोषी जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।







प्रतिक्रिया