नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा केही प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।
कांग्रेसले विभिन्न दलका शीर्ष नेताहरूलाई उद्घाटन समारोहमा निम्तो दिएको भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ सहभागी नहुने भएका हुन्।
एमाले अध्यक्ष ओलीलाई कांग्रेस सभापति गगन थापाले महाधिवेशनमा सहभागी हुन निम्तो पठाएका थिए। सुरुमा सहभागी हुने संकेत गरे पनि कांग्रेस नेतृत्वसँगको चिसिएको सम्बन्धका कारण ओली खुलामञ्चमा नजाने भएका छन्। ओलीको सचिवालयका अनुसार उनको स्थानमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुनेछन्।
त्यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउत आफ्नै पार्टीको दोस्रो महाधिवेशनका लागि वीरगञ्जमा रहेकाले कांग्रेस महाधिवेशनमा सहभागी नहुने भएका छन्। उनले कांग्रेस नेतृत्वलाई शुभकामना दिँदै आफ्नै पार्टीको महाधिवेशनमा व्यस्त भएकाले सहभागी हुन नसक्ने बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी नहुने भएका छन्। उनको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारी सहभागी हुने यादवको सचिवालयले जनाएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ पनि उद्घाटन समारोहमा नजाने भएका छन्। उनको स्थानमा पार्टीका महासचिव आरेन राई सहभागी हुनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ। कांग्रेसले विभिन्न दलका शीर्ष नेताहरूलाई निम्तो दिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। उनलाई कांग्रेसले निम्तोसमेत दिएको छैन। प्रधानमन्त्रीको अनुपस्थितिमा कांग्रेसले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।







प्रतिक्रिया