दुबईबाट तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा एक पाइलटमाथि चक्कु प्रहार भएपछि विमान तीव्र गतिमा उचाइ गुमाउन थालेको घटनामा यात्रु यानिभ हायुनले आक्रमणकारीलाई नियन्त्रणमा लिनुका साथै विमानको नियन्त्रण पुनःस्थापित गर्न सहयोग गरेका छन्।
घटनापछि इजरायल फर्किएका हायुनलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भेटेर विमानको नियन्त्रणबारे कसरी जानकारी पाए भनेर सोधेका थिए। नेतन्याहुको कार्यालयले सार्वजनिक गरेको भिडियोमा हायुनले आफूले विमान उडाउने औपचारिक तालिम नलिएको बताउँदै ‘म एयर क्र्यास इन्भेस्टिगेसन हेर्छु, प्रधानमन्त्रीज्यू’ भन्ने जवाफ दिएका छन्।
विमान तीव्र रूपमा तल झर्न थालेपछि हायुनसहित केही यात्रुले ककपिटतर्फ जाने प्रयास गरेका थिए। घाइते पाइलट ककपिटको ढोकामा ढलेका कारण सुरुमा ढोका खोल्न कठिन भएको उनले बताएका छन्। पछि ढोका खुलेपछि यात्रुहरू ककपिटभित्र प्रवेश गर्दा दुवै पाइलट आफ्नो सिटमा नरहेको देखिएको थियो।
हायुनका अनुसार एक पाइलट भुइँमा थिए भने कथित आक्रमणकारी ककपिटको नियन्त्रण प्यानलनजिक थिए। उनले पछाडिबाट आक्रमणकारीलाई समातेर विमानको नियन्त्रण प्रणालीबाट टाढा तानेका थिए। त्यसपछि अन्य यात्रुले पनि उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।
हायुनले आफूले विमान चलाउने औपचारिक प्रशिक्षण नलिएको स्पष्ट गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धान र भिडियोहरू हेर्ने गरेको बताए। त्यसबाट आपत्कालीन अवस्थामा विमानका केही नियन्त्रणबारे सामान्य जानकारी रहेको उनको भनाइ थियो।
फ्लाईदुबईको एफजेड १०७३ उडान बुधबार दुबईबाट तेलअभिभका लागि उडेको थियो। विमानमा चालक दलसहित १७४ जना थिए। पाइलटमाथि आक्रमण भएपछि विमानले छोटो अवधिमै ठूलो उचाइ गुमाएको उडान अनुगमनसम्बन्धी विवरणमा उल्लेख छ।
पछि चालक दलका सदस्यहरूले विमानको नियन्त्रण सम्हालेका थिए र उडानलाई सुरक्षित रूपमा अघि बढाइएको जनाइएको छ।







प्रतिक्रिया