किभमा रुसी आक्रमणबाट २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबी गरेको छ।

रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएअनुसार, आक्रमणबाट युक्रेनको डिजिटल तथा सञ्चार सेवामा असर परेको छ। केही क्षेत्रमा टेलिभिजन प्रसारणमा अवरोध आउनुका साथै सामाजिक सञ्जाल, भिडियो सेवा र युट्युबसहित केही अनलाइन स्रोतमा पहुँच गर्न कठिनाइ भएको रुसी पक्षको दाबी छ।

किभस्थित कोस्मोनोभा डेटा सेन्टरले पनि आफ्नो मुख्य पूर्वाधारमा क्षति पुगेको जनाएको छ। कम्पनीले इन्टरनेट ट्राफिकलाई अन्य स्थानतर्फ मोड्ने तथा ब्याकअप स्थानबाट डेटा पुनःस्थापना गर्ने काम भइरहेको बताएको छ।

रुसी रक्षा मन्त्रालयले कोस्मोनोभा डेटा सेन्टरलाई लक्षित गरिएको पुष्टि गर्दै उक्त पूर्वाधारले मोबाइल इन्टरनेट सेवा तथा स्टारलिंकसम्बन्धी सहयोग उपलब्ध गराएको दाबी गरेको छ।

पछिल्ला केही सातादेखि युक्रेनका डेटा सेन्टर तथा दूरसञ्चार पूर्वाधारमा आक्रमण बढेको रिपोर्टहरू सार्वजनिक भएका छन्। यद्यपि, एउटा वा केही डेटा सेन्टरमा क्षति पुग्दैमा देशव्यापी इन्टरनेट सेवा पूर्णरूपमा बन्द हुने अवस्था नरहेको बताइएको छ।

रुसी पक्षले गरेको २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। त्यसैले उक्त तथ्यांकलाई रुसी सुरक्षा स्रोतको दाबीका रूपमा लिनुपर्ने हुन्छ।