ज्ञानेन्द्र शाह : राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचनमा जान उपयुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान गम्भीर राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको अवस्था सामान्य नभएको उल्लेख गरे।
‘प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुनेछ,’ उनले भने, ‘निर्वाचनपछि कुनै खिचातानी नहोस् भन्न राष्ट्रिय समझदारी बनाएर जाँदा सही बाटो समातिने थियो।’

पूर्वराजा शाहले मुलुकमा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे।
‘आलोपालो भाग लगाएर खाऔँ भन्ने सोचले होइन, मिलेर काम गरौँ भन्ने सोचले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ,’ उनले भने।

उनका अनुसार अहिले देश कसैलाई खुसी पार्नुपर्ने वा कसैबाट निर्देशित हुनुपर्ने अवस्थाको जञ्जिरमा बाँधिएको छ। जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो नहुने उनको भनाइ छ।

शाहले सिंगो मुलुक अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको तथा देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको बताए। विगतमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई वास्तवमा के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको उनको धारणा छ।

सन्देशको अन्त्यमा उनले राष्ट्रिय एकता, सद्भाव र सहकार्यको राजनीतिक संस्कृतिको विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै ‘पहिला देश, पहिला जनता, पहिला आवश्यकता’ भन्ने सोचका साथ प्रजातन्त्रलाई व्यवहारमा उतार्न आग्रह गरेका छन्।