काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह आवश्यक रहने बताएका छन्।
नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोग : अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
मन्त्री खनालले समाजलाई शान्त, सभ्य र सौम्य राख्न सही सूचना सही समयमा र सही कारणले दिनुपर्ने बताए। एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनमा पाउँदा ठूलो फरक पर्ने उनको जिकिर थियो।
‘अर्थतन्त्रको सही विकास, हाम्रा आफ्नै क्रियाकलापको उचित सञ्चालन र समाजलाई शान्त तथा सभ्य राख्न सही सूचना सही समयमा दिनुपर्छ,’ उनले भने।
उनले सूचनाको हक समाचारका लागि मात्र नभई कतिपय अवस्थामा स्वार्थका लागि दुरुपयोग हुने गरेको पनि उल्लेख गरे। अर्थ मन्त्रालयबाट माग गरिएका सूचनाहरू प्रायः वेबसाइटमै उपलब्ध हुने भए पनि केही व्यक्तिले अन्य उद्देश्यले सूचना प्रयोग गर्ने गरेको उनको गुनासो थियो।
मन्त्री खनालले सूचनाको हक सरकारी क्षेत्रमा मात्र नभई व्यवसायिक क्षेत्रमा पनि लागू हुने बताए। नागरिकसम्म सूचनाको हक प्रभावकारी रूपमा पुर्याउन थप प्रचार–प्रसार आवश्यक रहेकोमा उनले जोड दिए।







प्रतिक्रिया