नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। मंगलबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
प्रतिबद्धतापत्रमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अघि सारिएको छ। झण्डै १३ हजार शब्दको प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार तथा सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। यसका लागि नेकपाले ‘स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र’ प्रस्तुत गरेको जनाएको छ।
पाँच अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा पार्टीको वैचारिक दृष्टिकोण समेटिएको छ। दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा समाजवादका आधार निर्माण गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधारबारे विवेचना गरिएको छ। चौथो अध्याय शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित छ भने अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सामाजिक सुरक्षाका विषय समेटिएका छन्।
प्रतिबद्धतापत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना तथा नयाँ महत्वपूर्ण परियोजनाहरूलाई द्रुत गतिमा सम्पन्न गर्ने उल्लेख छ। पूर्व–पश्चिम राजमार्ग, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग, काठमाडौं–हेटौंडा सुरुङमार्ग, उत्तर–दक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) तथा गड्डाचौकी–चिसापानी सडकखण्डलाई चार लेनमा विस्तार गर्ने योजना पनि समेटिएको छ।
यसैगरी खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडक योजना शीघ्र सम्पन्न गर्ने, काठमाडौं बाहिरी चक्रपथ तथा अन्य प्रमुख सहरमा चक्रपथ निर्माणलाई तीव्रता दिने उल्लेख गरिएको छ। सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्याउने, हुलाकी सडकका बाँकी खण्ड निर्माण पूरा गर्ने तथा पूर्व–पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक काम अघि बढाउने प्रतिबद्धता पनि जनाइएको छ।
ठूला पूर्वाधारतर्फ केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अघि बढाउने, पूर्व–पश्चिम रेलमार्ग, काठमाडौंमा मेट्रोरेल तथा मोनोरेल निर्माणको प्रक्रिया सुरु गर्ने उल्लेख छ।
नेकपाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने, प्रयोगमा नरहेका विमानस्थलको स्तरोन्नति गरी सञ्चालन वा वैकल्पिक प्रयोगमा ल्याउने योजना पनि अघि सारेको छ। साथै, द्रुतमार्ग, लोकमार्ग र सुरुङमार्गको विस्तार, प्रमुख सहरमा मास ट्रान्जिट प्रणाली लागू गर्ने तथा ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।







प्रतिक्रिया