बझाङका युवाहरूले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर ५–६ दिन सार्वजनिक बिदा दिन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बझाङको साइपाल गाउँपालिकाका युवाहरूले ५–६ दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्। उनीहरूले फागुन १८ देखि २३ सम्म बिदा दिएर मतदाता सहभागिता बढाउनुपर्ने पक्ष राखेका छन्।

युवाहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएका हुन्। ज्ञापनपत्रमा निर्वाचनलाई केवल प्रशासनिक प्रक्रिया नभइ राष्ट्रिय भाग्य र लोकतन्त्र सशक्त बनाउने ऐतिहासिक अवसरको रूपमा उल्लेख गरिएको छ।

उक्त ज्ञापनपत्रअनुसार फागुन १८ र १९ गते पहाडी तथा तराई क्षेत्रमा होली पर्व परेको कारण यी दिन देशैभर बिदा दिनुपर्ने, २० गते निर्वाचनको अघिल्लो दिन र २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने व्यवस्था हुनुपर्ने, साथै २२ गते आफ्नै गन्तव्यमा फर्कनको लागि समय दिनुपर्ने माग गरिएको छ। यसरी ५ दिनसम्म बिदा दिइएमा कामको लागि घरबाहिर रहेकाहरूले मतदान गर्न सक्ने स्पष्ट गरिएको छ।

साइपालका युवा साजन बोहराका अनुसार नेपालको भौगोलिक बनावट, यातायात अवस्था र विविध पेशा/उद्योगलाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय लिन आवश्यक छ। उनले थपे, “विदेशमा रहेका नेपालीलाई तत्काल मतदानको सुविधा दिन नसकिए पनि देशभित्र रहेका नागरिकलाई मतदानको वातावरण बनाउनुपर्छ, जसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढाउनेछ।”