महाशिवरात्रिको तयारी तीव्र: पशुपतिनाथ क्षेत्रमा सरसफाइ, पूर्वाधार सुधार र सुरक्षा व्यवस्थामा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ र पूर्वाधार सुधारका काम सुरु गरिएको छ। भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले मन्दिर क्षेत्रका विभिन्न स्थानमा विशेष तयारी अघि बढाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी कामलाई तीव्रता दिइएको छ। उनले भने, “महाशिवरात्रिको तयारीका लागि समिति पूर्ण रूपमा सक्रिय छ। साधु–सन्त, भक्तजन तथा दर्शनार्थीलाई सुविधा पुर्‍याउने लक्ष्यसहित व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारलगायत क्षेत्रमा समन्वयात्मक रूपमा काम भइरहेको छ।”

महाशिवरात्रिका दिन ठूलो संख्यामा भक्तजन पशुपतिनाथ दर्शनका लागि आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा व्यवस्था र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको जोशीले जानकारी दिए। यसका लागि सुरक्षाकर्मी, स्वयंसेवक तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै तयारीलाई थप प्रभावकारी बनाइएको छ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि पर्वको व्यवस्थापनका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिले पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।

महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथ क्षेत्रमा साधु–सन्तहरूको आगमन तीव्र रूपमा बढ्न थालेको छ। देशका विभिन्न भू–भागका साथै छिमेकी मुलुक भारतबाट पनि साधु–सन्तहरू पशुपति क्षेत्रमा आइपुग्न थालेका छन्। विभिन्न अखडा तथा सम्प्रदायका साधु–सन्तहरूले आ–आफ्ना धुनी स्थापना गर्दै ध्यान, तपस्या र साधनामा जुटिरहेका छन्।

यस वर्ष महाशिवरात्रि पर्व फागुन ३ गते परेको छ। पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा धार्मिक गतिविधि उल्लेख्य रूपमा बढ्दै गएको र साधु–सन्तसँगै भक्तजनको आवागमन पनि बढ्न थालेको कोषले जनाएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व भएकाले स्वदेशी तथा विदेशी श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। पर्वलाई सफल र मर्यादित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोष, नेपाल सरकार तथा सम्बन्धित निकायहरू सक्रिय रूपमा जुटिरहेका छन्।