नेपालमा पहिलोपटक सालक (प्याङ्गोलिन) संरक्षणसम्बन्धी राष्ट्रिय सम्मेलन आज चितवनको माडीमा सुरु भएको छ। बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन सञ्चालन गरिएको हो।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्जका प्रमुख, बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालयका प्रमुखहरू, वन्यजन्तु संरक्षण विभाग, सामुदायिक वनका प्रतिनिधि, वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विज्ञसहित २०० भन्दा बढी सहभागीको उपस्थिति रहेको छ।
सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, यसको संरक्षणको आवश्यकता, सामना गर्नुपरेका चुनौती तथा भावी रणनीतिका विषयमा विस्तृत छलफल गरिने जनाइएको छ। प्रमुख आचार्यले भने, “आगामी दिनमा बागमती प्रदेशको एक सशक्त संरक्षण प्रतीकका रूपमा सालकलाई अघि बढाउन यो सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक संरक्षित वन्यजन्तुको सूचीमा पर्दछ। हाल सालक लोपोन्मुख अवस्थामा पुगेको छ। किसानको साथीका रूपमा परिचित सालकले बालीनालीमा हानिकारक कीरा–फट्याङ्ग्रा खाइ पारिस्थितिक सन्तुलनमा योगदान पुर्याउने भएकाले यसको संरक्षण अत्यन्त आवश्यक रहेको आचार्यले बताए।
बागमती प्रदेश सरकारले सालक संरक्षणका लागि नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन अघि बढाइसकेको छ। आउँदो वर्षदेखि नियमित र योजनाबद्ध रूपमा सालक संरक्षण कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको जनाइएको छ।
सालक एक स्तनधारी जनावर हो। विश्वभर सालकका आठ प्रजाति पाइन्छन् भने नेपालमा कालो (चाइनिज) र तामे (इन्डियन) गरी दुई प्रजाति पाइन्छन्। उपलब्ध तथ्याङ्कअनुसार सालक नेपालका ६१ जिल्लामा तथा बागमती प्रदेशका सबै जिल्लामा पाइने गरेको छ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालकको चोरी, सिकार तथा अवैध व्यापार गम्भीर अपराध मानिन्छ। दोषी ठहर भएमा १० लाख रुपैयाँसम्म जरिवाना तथा १५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ। सालक निर्दोष र पारिस्थितिकीय रूपमा अत्यन्त महत्वपूर्ण जनावर भएकाले यसको महत्वबारे सबैले बुझ्न आवश्यक रहेको आयोजकको भनाइ छ।
यसैबीच सम्मेलनले आजै ‘माडी घोषणापत्र’ जारी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।







प्रतिक्रिया