राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अहिलेको आवश्यकता भइसकेको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति, राजनीतिक पार्टी, गुट र व्यक्तिहरूलाई समान रूपमा समेट्दै देशलाई अघि बढाउन राजसंस्था ‘छहारी’ का रूपमा अत्यावश्यक भएको पार्टीको अडान प्रस्तुत गरे।
उनले राप्रपाले अघि सारेको ‘नवीन समझदारी’ मार्फत देशलाई अगाडि लैजानुपर्ने आवश्यकता औंल्याउँदै भने, “देशमा रहेका विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति, राजनीतिक पार्टी र गुटहरूभन्दा माथि एउटा साझा छाताका रूपमा राजसंस्था नेपालको लागि अति आवश्यक भएको छ। यो आवश्यकता हाम्रो पुस्ताका लागि मात्र होइन, हामीभन्दा मुनिको पुस्ताका लागि अझ बढी महत्त्वपूर्ण छ।”
मिश्रले राप्रपाले राजसंस्थासहितको शासन व्यवस्थाको पक्षमा स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको पनि बताए।
“हामी सबैका सन्तान र दरसन्तानले यो देशमा लामो समय बिताउनुपर्नेछ,” उनले भने, “यदि यी विषयहरूलाई गम्भीर रूपमा मनन गरेर यो पटक मतदाता भोट दिन्छन् भने राप्रपा बाहेक, हलो बाहेक अर्को विकल्प हुनै सक्दैन।”
उनले फेरि पनि यिनै आधारभूत विषयहरूलाई बेवास्ता गरेर मतदान गरिएमा पुरानै चक्र दोहोरिरहने चेतावनी दिए। “हरेक चुनावमा मतदाता उत्साहित हुन्छन्, तर समस्याको समाधान कहिल्यै हुँदैन,” मिश्रले भने, “अब त्यस चक्रलाई तोडेर समस्याको स्थायी समाधानतर्फ देशलाई लैजानु आवश्यक छ, र राप्रपा त्यही दिशामा अघि बढिरहेको छ।”







प्रतिक्रिया