निर्वाचन आचारसंहिता उल्लंघनका आरोपमा दुर्गा प्रसाईं पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउको प्रक्रिया निर्वाचन आयोगको पत्रको आधारमा भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी साइबर ब्युरोका अनुसार प्रसाईंलाई काठमाडौँको दक्षिणकाली नगरपालिका, चाल्नाखेलबाट नियन्त्रणमा लिइएको हो। निर्वाचन आयोगले प्रसाईंले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ र निर्वाचन आचारसंहिता २०८२ को उल्लङ्घन गर्ने काम–कारबाही गरेको भन्ने जानकारी पाएको भन्दै नियमनको लागि पत्र पठाएको थियो।

आयोगका एक पदाधिकारीले भने,

“प्रसाईंले आचारसंहिता विपरीत गतिविधि गर्दै आएको जानकारी आएपछि हाम्रो पत्र ब्युरोलाई पठाइएको हो। ब्युरोले त्यसअनुसार निगरानी गरेर उनलाई पक्राउ गरेको छ।”

प्रसाईंले सरकारी निर्वाचन मिति सार्वजनिक भए पनि ‘निर्वाचन हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए र शनिबार पर्सामा आयोजना गरेको सभामा आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको थियो। पत्र प्राप्त भएपछि ब्युरोले पर्सा जाने क्रममा उनलाई रोक्न चाल्नाखेलबाट पक्राउ गरेको हो।

ब्युरोका अधिकारीहरूले भने, प्रसाईंलाई नियन्त्रणमा लिएर शनिबारको कार्यक्रममा सहभागी हुन नदिने र आइतबार सामान्य तारेखमा छोड्ने योजनाअनुसार पक्राउ गरिएको हो।

प्रसाईं यसअघि पनि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यतिबेला उनले कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएको कारण पक्राउ परेको थियो। उनलाई अर्को दिन काठमाडौँ ल्याएर सामान्य तारेखमा छोडिएको थियो।