भारतले ७ उच्च–गतिको बुलेट ट्रेन करिडोर विकास गर्ने योजना ल्यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत सरकारले संघीय बजेट २०२६/२७ मार्फत देशभर सातवटा उच्च–गतिको रेल (बुलेट ट्रेन) करिडोर विकास गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

हाल भारतमा मुम्बईदेखि अहमदावाद जोड्ने ५०८ किलोमिटर लामो बुलेट रेलमार्ग निर्माणाधीन अवस्थामा छ। यही योजनालाई विस्तार गर्दै संघीय बजेट २०२६/२७ मा थप सात बुलेट ट्रेन करिडोर निर्माणको घोषणा गरिएको हो।

भारतकी वित्तमन्त्री निर्मला सीथारमणले फेब्रुअरी १ तारिखमा आर्थिक वर्ष २०२६/२७ को वार्षिक बजेट सार्वजनिक गर्दै मुम्बई–पुणे, पुणे–हैदराबाद, हैदराबाद–बेंगलुरु, हैदराबाद–चेन्नई, चेन्नई–बेंगलुरु, दिल्ली–वाराणसी (बनारस) र वाराणसी–सिलिगुडी जोड्ने बुलेट ट्रेन करिडोर निर्माण गरिने जानकारी दिएकी थिइन्।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा रेलमन्त्री अश्विनी वैष्णवले करिब ४ हजार किलोमिटर लामो यी सातवटा बुलेट ट्रेन करिडोरको निर्माण एकसाथ अघि बढाइने बताए। ‘सन् २०४७ सम्म विकसित भारत बनाउने लक्ष्य हासिल गर्न यी परियोजना अत्यन्तै महत्वपूर्ण छन्,’ उनले भने।

यी करिडोर सञ्चालनमा आएपछि प्रमुख शहरहरूबीचको यात्रा समय उल्लेखनीय रूपमा घट्ने रेल मन्त्रालयले जनाएको छ।

रेलमन्त्री वैष्णवका अनुसार मुम्बई–पुणे यात्रा ४८ मिनेटमा पूरा हुनेछ। पुणे–हैदराबाद १ घण्टा ५५ मिनेट, हैदराबाद–बेंगलुरु २ घण्टा, हैदराबाद–चेन्नई २ घण्टा ५५ मिनेटमा पुगिनेछ।

त्यस्तै, चेन्नई–बेंगलुरु १ घण्टा १३ मिनेट, दिल्ली–वाराणसी ३ घण्टा ५० मिनेट र वाराणसी–सिलिगुडी २ घण्टा ५५ मिनेटमा पूरा हुने बताइएको छ।