शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा शान्तिपूर्ण निर्वाचनका लागि आवश्यक वातावरण बनिसकेको बताएका छन्। सुरुमा शान्ति सुरक्षाका विषयमा विभिन्न जिज्ञासा र चिन्ता रहे पनि अहिले त्यस्तो अवस्था नरहेको उनले स्पष्ट पारे।

शुक्रबार एक कार्यक्रममा बोल्दै कावा प्रमुख आयुक्त भण्डारीले निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै शान्ति सुरक्षाको विषयमा गम्भीर छलफल सुरु गरिएको जानकारी दिए। ‘यो शताब्दीकै सुरक्षा सन्दर्भमा पेचिलो विषय हो भन्ने बुझाइका साथ हामीले प्रारम्भदेखि नै छलफल अघि बढाएका हौँ,’ उनले भने।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। सोही सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन्।

यस पृष्ठभूमिमा सुरक्षाप्रति चासो हुनु स्वाभाविक भएको उल्लेख गर्दै भण्डारीले भने, ‘विद्रोहपछिको सरकार हो, तर संविधान जीवित छ। पुराना र नयाँ राजनीतिक शक्तिबीच सन्तुलन कायम नभए निर्वाचन शान्तिपूर्ण हुन सक्दैन।’ यही कारण सुरक्षाका सम्भावित चुनौती पहिचान गरी सरकारसँग पटक–पटक छलफल गरिएको उनले बताए।

उनका अनुसार निर्वाचनमा सहभागी दलका नेता, उम्मेदवार तथा मतदाताको सुरक्षालाई केन्द्रमा राखेर निरन्तर संवाद हुँदै आएको छ। सरकार तथा सुरक्षा निकायका प्रमुखहरूसँग भएका छलफलबाट मतदाताको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्षमा आयोग पुगेको छ।

‘सबै कोणबाट मूल्याङ्कन गर्दा अब शान्ति सुरक्षाबारे अत्यधिक चिन्ता गर्नुपर्ने अवस्था छैन,’ कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘निर्वाचन ढुक्कका साथ, शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ। यसलाई बिथोल्ने प्रयास गर्ने तत्त्वहरू सुरुमै परास्त भइसकेका छन्।’