नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्ति आवश्यक रहेको बताएका छन्। शुक्रबार कास्की कांग्रेसद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशमा चरम निराशा र अविश्वासको अवस्था रहेकाले यस्तो समयमा संयम, धैर्यता र चेतनाको राजनीति गर्न सक्ने शक्ति चाहिने बताएका हुन्।
‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, तर निभाउन धैर्यता र क्षमता चाहिन्छ,’ सभापति थापाले भने, ‘उत्तेजना फैलाउन सजिलो छ, तर चेतनाको राजनीति गर्ने तागत अहिले अपरिहार्य छ।’
त्यस्तो सम्हाल्ने शक्ति नेपाली कांग्रेससँग रहेको दाबी गर्दै उनले कांग्रेसले नै देशलाई मिलाउने र सम्हाल्ने भूमिका खेल्ने बताए। नागरिकमा देखिएको गहिरो असन्तुष्टि र अविश्वासको जवाफ सुधार र जिम्मेवार शासनबाटै दिन सकिने उनको भनाइ थियो।
‘नागरिकहरू रिसाएका छन्। राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ,’ उनले भने, ‘त्यही अविश्वासका कारण देशले नै आत्मविश्वास गुमाएको जस्तो देखिन्छ।’
समाज भित्रभित्रै आगो बलिरहेको उल्लेख गर्दै सभापति थापाले यस्तो अवस्थामा कांग्रेसले जिम्मेवारी लिनुपर्ने बताए।
उनले वर्तमान निराशाको मुख्य कारण भ्रष्टाचार भएको दाबी पनि गरे। ‘नागरिकसँग सोध्दा नेपालको सबैभन्दा ठूलो शत्रु को हो भने उत्तर एउटै आउँछ— भ्रष्टाचार,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धाका रूपमा नेपाली कांग्रेस उभिएको छ।’
नयाँ कांग्रेसका प्रत्येक नेता ‘टाउकोदेखि पुच्छरसम्म’ संकल्प बोकेर आएको दाबी गर्दै सभापति थापाले भने, ‘हिजो हामीले देशलाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि नेपाली कांग्रेसले नै बाहिर निकाल्छ।’







प्रतिक्रिया