राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अझै फैसला नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढुंगानाले न्यायपालिकाको भूमिकाप्रति प्रश्न उठाएका हुन्। उनले सर्वोच्च अदालतका न्यायाधीशहरू यति निरीह भएको अवस्था आफूले यसअघि कहिल्यै नदेखेको दाबी गरे।
पञ्चायतकाल र राजतन्त्रको समयमा समेत संवेदनशील मुद्दाहरूमा अदालतले समयमै फैसला गर्ने गरेको स्मरण गराउँदै अहिलेको अवस्था चिन्ताजनक भएको उनले बताए।
‘यो देशको राष्ट्रियता कमजोर बन्दै गएको छ। संसद् पुनःस्थापनासम्बन्धी गम्भीर मुद्दा अदालतमा परेको छ तर न्यायाधीशहरू निरीह भएर बसिरहेको देखिन्छ,’ उनले भने, ‘पञ्चायत वा राजाको शासनकालमा समेत राजकाजसँग सम्बन्धित मुद्दामा तत्काल फैसला हुन्थ्यो, तर आज त्यो अवस्था छैन।’
सांसद ढुंगानाले सरकारले पनि राष्ट्रिय हितका विषयमा आवश्यक ध्यान दिन नसकेको आरोप लगाए। उनले संवैधानिक अंगहरूको सक्रियता कमजोर हुँदा लोकतान्त्रिक मूल्य र संस्थामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताए।







प्रतिक्रिया