सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवनको निर्माण प्रगतिबारे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चासो देखाएका छन्।
यस विषयमा अध्यक्ष दाहालले निर्माण व्यवसायी, सहरी विकास मन्त्रालयका पदाधिकारी तथा संसद् सचिवालयका प्रतिनिधिसँग संयुक्त छलफल गर्ने भएका छन्। संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार छलफल शुक्रबार दिउँसो साढे ३ बजे राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा हुनेछ।
चुनावपछि गठन हुने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सोही निर्माणाधीन भवनमै राख्ने तयारी भइरहेको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन आगलागीपछि प्रयोगयोग्य नहुँदा सिंहदरबारभित्रै नयाँ संसद् भवन प्रयोग गर्ने विकल्पमा छलफल अघि बढाइएको हो।
सिंहदरबार परिसरभित्र संसद्का लागि पाँच तलाका आधुनिक भवन निर्माण गरिएको छ। संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ भने निर्माण ठेक्का तुन्दी–सेक जेभीले पाएको छ।
सहसचिव गिरीका अनुसार आफ्नै आधुनिक भवन बनेपछि संघीय संसद् सचिवालय लामो समयदेखि झेल्दै आएको भाडाको बोझबाट मुक्त हुनेछ। विगत १९ वर्षदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोग गर्दा संसद् सचिवालयले वार्षिक रूपमा ठूलो रकम भाडा तिर्दै आएको थियो। सुरुमा १६ करोड ५० लाख रुपैयाँ वार्षिक भाडा तोकिएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा भाडा १० प्रतिशतले बढाइएको थियो।
शहरी विकास मन्त्रालयका अनुसार नयाँ संसद् भवन अत्याधुनिक सुविधासम्पन्न छ। पुतली बगैंचामा निर्माण गरिएको यस भवन नजिकै राजनीतिक दलहरूका संसदीय दल कार्यालय, संसद् सचिवालय, राष्ट्रिय सभा र प्रतिनिधिसभाका संरचना व्यवस्थित रूपमा राखिएका छन्।
नयाँ संसद् भवन क्षेत्रमा भीभीआईपी, कर्मचारी तथा सर्वसाधारणका लागि छुट्टाछुट्टै प्रवेशद्वार छन्। मुख्य प्रवेशद्वारबाट प्लाजामा प्रवेश गरेपछि एकातर्फ संसद् सचिवालय र अर्कातर्फ प्रतिनिधिसभाको बैठक कक्ष रहने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा र सचिवालयको पछिल्लो भागमा संसदीय दलका कार्यालय र राष्ट्रिय सभा भवन अवस्थित छन्।
प्रतिनिधिसभा बैठक कक्ष ७०० सिट क्षमताको छ, जसमा सभाहलमा ४०० र बाल्कोनीमा ३०० सिट व्यवस्था गरिएको छ। राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ भने ३५० सिट अट्ने संयुक्त लबी पनि बनाइएको छ।
साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दल कार्यालय तथा बैठक कक्ष निर्माण गरिएको छ। प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख सचेतकलगायतका लागि विशेष कक्ष तयार गरिएको छ, जहाँ २५ सिट क्षमताको बैठक हलसमेत व्यवस्था गरिएको छ।
संसद् परिसरभित्र पुस्तकालय, क्यान्टिन, प्रेस तथा छपाइ भवन, ७०० सवारी साधन अट्ने पार्किङ, सुरक्षाकर्मीका भवन, हरियाली बगैंचा तथा पानीका फोहोरा सहितको खुला क्षेत्र निर्माण गरिएको छ।







प्रतिक्रिया