नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा ‘अबकी बार कांग्रेसको सरकार’ भन्दा अघि बढेर ‘अबकी बार सय पार’ हुनुपर्ने बताएका छन्।
शुक्रबार कास्कीको पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत हासिल गर्न सक्ने दाबी गर्दै त्यसअनुसार मत माग्न नेता–कार्यकर्तालाई आग्रह गरे।
‘मधेश जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु—अबकी बार कांग्रेसको सरकार भन्ने नारा लगाउन छोडिदिनुस्,’ उनले भने, ‘नारै लगाउने हो भने अबकी बार सय पार भनेर लगाउनुस्।’
सभापति थापाले आगामी निर्वाचनबाट कांग्रेसलाई बहुमतसम्म पुर्याउन सकिने विश्वास व्यक्त गरे। ‘त्यहाँ पुर्याउने हो यसपालि,’ उनले भने, ‘मज्जाले जाने हो, सकिन्छ पुग्न। बहुमतसम्म पुग्न सकिन्छ।’
यसका लागि पार्टीका नेता–कार्यकर्ताले कडा मेहनत गर्नुपर्नेमा उनले जोड दिए। ‘पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर मेहनत गर्नुपर्छ,’ उनले भने, ‘१० लाख क्रियाशील सदस्य भएको पार्टी हो यो। वडा–वडा, टोल–टोलमा संगठन गर्ने क्षमता कांग्रेससँग छ।’
सभापति थापाले कांग्रेस बदलिएर आएको र बदलिएर आएको कांग्रेसले देशलाई पनि बदल्ने दाबी गरे। ‘हामी बदलिएर आएका छौँ,’ उनले भने, ‘र बदलिएर आएको कांग्रेसले देशलाई बदल्छ। यही विश्वास लिएर तपाईंहरू तल्लो तहसम्म जानुहुन्छ भन्ने मलाई भरोसा छ।’







प्रतिक्रिया