निर्वाचन आयोगले आचारसंहिता उल्लंघनसम्बन्धी स्पष्टीकरण सोधिएका ३४ राजनीतिक दल तथा उम्मेदवारमध्ये २४ जनाबाट जवाफ प्राप्त भएको जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २४ वटा स्पष्टीकरणको जवाफ आइपुगेको जानकारी दिए।
‘३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा २४ बाट जवाफ प्राप्त भइसकेको छ,’ उनले भने, ‘जवाफ आएपछि त्यसैमा कुरा टुंगिन्छ कि टुंगिँदैन भन्ने विषय आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐन अनुसार केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्णय गर्छ।’
उनका अनुसार कुन अवस्थामा थप स्पष्टीकरण माग्ने, कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय कानुन हेरेर गरिनेछ। आचारसंहिता उल्लंघनका घटनालाई निर्वाचन आयोगले कुनै पनि हालतमा नजरअन्दाज नगरेको उनले स्पष्ट पारे।
प्रवक्ता भट्टराईले आचारसंहिता पालना गराउन आयोगको सक्रियता बढाइएको जानकारी दिँदै पछिल्लो समय जिल्लास्तरमै उजुरी दर्ता र फर्स्यौट हुने दर बढेको बताए। ‘जिल्लामै उजुरी समाधान हुने क्रम बढेकाले केन्द्रमा आउने उजुरीको संख्या केही घटेको महसुस गरेका छौँ,’ उनले भने, ‘अझै सुधार गर्नुपर्ने विषय भए आयोग त्यसका लागि तयार छ।’
आयोगका अनुसार हाल ६३ राजनीतिक दलका ५७ वटा निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये १ हजार ७७२ जना महिला र १ हजार ३६३ जना पुरुष उम्मेदवार रहेका छन्। आयोगको तथ्याङ्कअनुसार समानुपातिकतर्फ पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी छ।







प्रतिक्रिया