बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा मधुवन नगरपालिका–९, गाउँ नं १३ की ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकाय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लका अनुसार डाँगीलाई नेपाल–भारत सीमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरी भारतीय वनतर्फ तानेर लगेको थियो। खोजीका क्रममा दशगजा क्षेत्र नजिकै बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, नन्दु रोकाय बबई नदी तरेर बारबर्दिया नगरपालिका–११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा चितुवाको आक्रमणमा परेका थिए।

यसअघि पनि गत माघ ७ गते सोही क्षेत्रको बारबर्दिया नगरपालिका–११ बेलभारमा तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट खिदनी थारूको मृत्यु भएको थियो।

डिभिजन वन कार्यालयका अनुसार गत साउनयता बर्दियामा चितुवाको आक्रमणबाट ७ जना, पाटेबाघको आक्रमणबाट १ जना र जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ।