निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न गरेको छ। तीमध्ये २५ जिल्लाको मतपत्र प्याकिङको कामसमेत पूरा भइसकेको आयोगले जनाएको छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा र अछाममा मतपत्र छपाइ तथा प्याकिङ दुवै सम्पन्न भइसकेको छ। साथै बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ कार्य पूरा भएको छ।
मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने पूर्ण रूपमा सम्पन्न भइसकेको छ। यसअन्तर्गत कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा माघ १६ गतेदेखि सुरु भएको छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। साथै १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार बाँकी मतपत्रको प्याकिङ कार्य पनि क्रमशः भइरहेको छ।







प्रतिक्रिया