लुम्बिनीमा १६–१७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ ।

बिहीबार बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनीको प्रचार–प्रसारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनका लागि मूल आयोजक समारोह समिति गठन गरेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको संयोजकत्वमा १० सदस्यीय मूल समारोह समिति गठन गरिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा सम्मेलन आयोजनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि नोभेम्बरमा आयोजना गर्ने भनिएको सम्मेलन देशको राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण स्थगित भएको थियो । अब २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर १६ र १७ वैशाखमा लुम्बिनीमै सम्मेलन आयोजना गरिने भएको छ ।

बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको मूल समारोह समितिका संयोजक डा. लामाले जानकारी दिए ।

दुई दिने सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु तथा बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा र संस्कृतिका विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

यसअघि आयोजना भएका पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको लुम्बिनी विकास कोषले जनाएको छ ।