कुलमान घिसिङको दाबी– अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीबाटै हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब देशको नेतृत्व आफ्नै पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचारप्रसारका क्रममा मधेश पुगेका अध्यक्ष घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी प्रधानमन्त्री उज्यालो नेपाल पार्टीबाटै हुने बताए ।

उनले देशमा वास्तविक परिवर्तन ल्याउन उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने स्पष्ट पारे । उज्यालो नेपाल पार्टी जेन–जी आन्दोलनको माग र भावनालाई बोकेर अघि बढिरहेको उल्लेख गर्दै घिसिङले काम गरेर चिनिएका व्यक्तिहरू एक भएर यो पार्टी बनेको बताए ।

‘अबको भोट भाषण गर्नेहरूलाई होइन, काम गर्नेहरूलाई हो,’ उनले भने, ‘केही पार्टीहरू भाषण र सामाजिक सञ्जालकै भरमा स्थापित भएका छन्, तर उज्यालो नेपाल पार्टी कामका आधारमा अघि बढेको छ ।’

अध्यक्ष घिसिङले आजबाट मधेश प्रदेश भ्रमण सुरु गरेको जानकारी दिँदै जनताको घरदैलो कार्यक्रम अन्तर्गत मधेश आएको बताए । मधेश प्रदेशका आठवटै जिल्लामा पार्टीका उम्मेदवार रहेकाले सबैसँग भेटघाट र छलफल गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

मधेश भ्रमणका क्रममा उनले जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा–अर्चना गरेका छन् । साथै पिडारी चोकमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । अध्यक्ष घिसिङ आजै सिरहा पुगेर कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।