प्रधानमन्त्री कार्कीद्वारा स्वास्थ्य बीमाको स्रोत समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतर्फ सरकार अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्।

बुधबार सम्बन्धित सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न, गरिब, अपाङ्ग, अशक्त तथा कमजोर वर्गका नागरिकका लागि लक्षित भएकाले यसलाई ‘विपद्’कै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी ढिलाइ नगरी समाधान खोजिने बताइन्। साथै, कार्यक्रमलाई कडा रूपमा नियमन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “अर्थमन्त्रीज्यू भ्रमणमा हुनुहुन्छ। उहाँ फर्किएपछि बसेर छलफल गर्छौं। ऋण लिएर भए पनि, स्रोत खोजेर भए पनि यो समस्या समाधान गर्नुपर्छ। मान्छेलाई अनिकाल पर्दा जसरी भए पनि उपाय खोजिन्छ, त्यसैगरी यहाँ पनि कुनै न कुनै उपाय निकाल्नै पर्छ।”

उनले स्वास्थ्य बीमा कार्यक्रम गरिब, असहाय, सडकमा बस्ने विपन्न वर्ग, अल्पसंख्यक, अपाङ्ग तथा अशक्त नागरिकको हितका लागि भएकाले आगामी दिनमा उनीहरूलाई केन्द्रमा राखेर व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताइन्।

“स्वास्थ्य बीमा कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्छ। अहिले पैसा खर्च भइरहेको छ, तर सेवाग्राहीले उपचार पाएका छैनन्। कहाँ समस्या छ भन्ने स्पष्ट हुनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।

प्रधानमन्त्री कार्कीले सरकारले आवश्यक परे ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि बजेटको व्यवस्था गर्ने स्पष्ट पारिन्। साथै, कार्यक्रमलाई छाडा रूपमा होइन, नियम र मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्नेमा जोड दिँदै छिट्टै छलफल गरेर सुधारको बाटोमा जाने बताइन्।