राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट विचाराधीन रहेको सन्दर्भमा सभापति लामिछानेले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो ।
उनले लेखेका छन्, ‘मेरो खुला आग्रह छ—अझै पनि जो–जो मिल्नु छ, मिल । खुला वा गोप्य जस्तो गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ । हामी मत परिणाम स्वीकार्छौं, तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि प्रयास स्वीकार्दैनौं ।’
सभापति लामिछानेले राजनीतिक स्वार्थका लागि गठबन्धन गर्ने अधिकार सबैलाई भए पनि देश कुनै अमुक नेताले होइन, जनताले जोगाएको उल्लेख गरेका छन् । उनले जनताको मतको बलमा सुशासन, विकास, कूटनीति र आर्थिक रूपान्तरणको नयाँ युग सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ उनले लेखेका छन् ।
उनले फागुन २१ लाई नेपाली इतिहासको महत्वपूर्ण माइलस्टोनको रूपमा उल्लेख गर्दै त्यसपछि गठन हुने संसदमा प्रतिपक्षीसहित नयाँ राजनीतिक संरचना आवश्यक रहेको बताए । लामिछानेले देशलाई लामो समयदेखि नियन्त्रणमा राखेको आपराधिक गिरोह र बिचौलियाबाट मुक्त गराउने जिम्मेवारी जनताकै हातमा रहेको पनि बताएका छन् ।







प्रतिक्रिया