विश्व बैंकले नेपालका साना तथा मझौला उद्यम (एसएमई) को वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर (करिब १२ अर्ब ६० करोड रुपैयाँ) सहयोग प्रदान गर्ने भएको छ ।
विश्व बैंकका अनुसार उक्त सहयोगबाट १ लाखभन्दा बढी साना तथा मझौला व्यवसायी लाभान्वित हुनेछन् भने रोजगारी केन्द्रित आर्थिक वृद्धिलाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यो सहयोग विश्व बैंकको ‘दिगो र समावेशी वित्त परियोजना’ अन्तर्गत प्रदान गरिनेछ । प्राप्त रकम नेपालको निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सुदृढ बनाउन खर्च गरिने बैंकले जनाएको छ । यसबाट जोखिम बाँडफाँट गर्ने क्षमता वृद्धि हुनुका साथै वित्तीय प्रणालीको दिगोपन सुनिश्चित हुने विश्वास गरिएको छ ।
परियोजनाबारे जानकारी दिँदै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन डाइरेक्टर डेभिड सिसलेनले भने, ‘वित्तीय पहुँच सहज बनाउँदै र कारोबारका अवरोध घटाउँदै यो परियोजनाले वित्तीय समावेशीकरणलाई व्यापक बनाउनेछ । यसले साना तथा मझौला उद्योगलाई क्षेत्रीय र विश्वव्यापी मूल्य शृङ्खलामा जोड्न मद्दत गर्नेछ र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा योगदान पुर्याउनेछ ।’
यो परियोजना सन् २०२४ मा सम्पन्न ‘वित्तीय क्षेत्र स्थायित्व र वृद्धिका लागि वित्त विकास नीति ऋण’ शृङ्खलाका सुधारहरूमा आधारित रहेको छ । साथै, यसले नेपाल सरकारको हालै स्वीकृत दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिसँग पनि मेल खाने बैंकले जनाएको छ ।
परियोजनाअन्तर्गत कर्जा सूचना केन्द्रको प्रविधि तथा संस्थागत क्षमतामा पनि लगानी गरिनेछ । यसले डेटा कभरेज विस्तार गर्न, वैकल्पिक डेटा स्रोत समावेश गर्न तथा डेटा सुरक्षा र गोपनीयता मजबुत बनाउन सहयोग पुर्याउनेछ । यस कार्यमा अन्तर्राष्ट्रिय वित्त निगम (IFC) ले पनि सहकार्य गरिरहेको छ ।
विश्व बैंकका वरिष्ठ वित्तीय क्षेत्र विशेषज्ञ तथा परियोजना टोली नेता साबिनराज श्रेष्ठका अनुसार पर्याप्त धितोको अभाव र सीमित कर्जा इतिहासका कारण साना व्यवसायीहरू न्यून लागतमा वित्तीय सेवा पाउनबाट वञ्चित हुँदै आएका छन् ।
उनका अनुसार केन्द्रको व्यवस्थापन सूचना प्रणाली (MIS) अपग्रेड गर्ने, दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाउने र जोखिममा आधारित मूल्य निर्धारण प्रणाली लागू गरेर कर्जा सुरक्षण कोषलाई थप सशक्त बनाइनेछ ।







प्रतिक्रिया