बालेनको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको आरोप, निर्वाचन आयोगद्वारा अनुसन्धान निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ मा मतदाताको घरदैलो गरेकी थिइन् । सो क्रममा रास्वपाको टोलीले बालेनका लागि मत मागेको थियो ।

उक्त टोलीमा सादा पोशाकका प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको आरोपसहित आयोगमा उजुरी परेको हो । उजुरीकर्ताले सविना काफ्ले र टोलीका सदस्यहरू मत माग्दै गरेको श्रव्य–दृश्य सामग्रीसमेत निर्वाचन आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरीले बालेनलाई भोट माग्दै गरेको’ बेहोराको श्रव्य–दृश्य सामग्री प्राप्त भएपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्राचार गरेको छ ।

आयोगले झापा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–५ मा बालेनको निर्वाचन प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोशाकका प्रहरी खटिएका थिए वा थिएनन् भन्ने विषयमा आवश्यक सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोगको पत्रमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा सादा पोशाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो, आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’