आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थल निर्धारणसँगै १६५ वटै निर्वाचन क्षेत्रका मतदाताको संख्या टुंगो लगाइसकेको छ । देशभर निर्वाचन गतिविधि तीव्र बन्दै गएका बेला हुम्लाको उत्तरी क्षेत्र भने सुनसान बनेको छ ।
उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमिको जाङ गाउँ अहिले पूर्ण रूपमा रित्तिएको छ । करिब १० वर्षअघि ६७ घरधुरी रहेको जाङ गाउँमा हाल एक जना पनि स्थायी रूपमा बसोबास छैन । यहाँ रहेका तीन मतदान स्थलमध्ये भृकुटी आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा २४७ जना मतदाता सूचीकृत छन् । तर ती मतदाता गाउँमा उपस्थित छैनन् ।
यस्तै, नाम्खा गाउँपालिका–६ कै हल्जी गाउँ पनि अहिले सुनसान छ । हिमपात नहुँदा केही समय मानिस बस्ने गरे पनि चिसो बढेपछि अधिकांशले गाउँ छोडेका छन् । सुनखानी आधारभूत विद्यालयस्थित हल्जी मतदान स्थलमा २९३ जना मतदाता रहे पनि अधिकांश काठमाडौं र भारतका विभिन्न सहर पुगेका छन् ।
तिलमामा रहेको हिमशिखर आधारभूत विद्यालय मतदान स्थलमा १३२ जना मतदाता सूचीकृत छन् । तर तीमध्ये धेरैजसो चीनको ताक्लाकोट, काठमाडौं र भारतको दिल्ली लगायतका सहरमा रहेको स्थानीय प्रशासनले जनाएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले अहिलेको अवस्थामा उत्तरी भेगमा निर्वाचन गराउन कठिन रहेको जानकारी गृहमन्त्रालय र निर्वाचन आयोगलाई गराइसकेको बताए ।
‘हामी निर्वाचन गराउने तयारीमै छौं । तर कानुनमा मतदान स्थलमा कति मतदाता उपस्थित भएमा निर्वाचन गराउने वा नगराउने भन्ने स्पष्ट व्यवस्था छैन,’ उनले भने, ‘यस विषयमा पटक–पटक जानकारी गराइसकेका छौं । अब माथिबाट आउने निर्देशनअनुसार अघि बढ्नेछौं ।’
उनका अनुसार उत्तरी क्षेत्रका केही गाउँमा सीमित मानिस भए पनि ती स्थानमा आवतजावत गर्न सक्ने अवस्था हाल छैन । यसले निर्वाचन व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ ।







प्रतिक्रिया