अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको मूल आत्मा स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन भएको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिकले डर, प्रलोभन वा कुनै पनि दबाबबिना आफ्ना प्रतिनिधि छान्न पाउनुपर्नेमा जोड दिइन्।
उनका अनुसार फागुन २१ मा हुने निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारीमा सरकार जुटिरहेको छ। उनले समयमा नै निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै सुरक्षा निकाय र कर्मचारीलाई उच्च मनोबलमा काम गर्न अनुकूल वातावरण सरकारले सुनिश्चित गर्ने स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले सबै बालिग नागरिकको मताधिकार सुरक्षित राख्दै सबै दललाई स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुन आग्रह गरिन्। उनले निर्वाचनलाई लोकतान्त्रिक अनुष्ठान भन्दै यसको सफलताले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा उनले भ्रष्टाचारलाई मानव अधिकारको सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रित गरिन्। भ्रष्टाचार आर्थिक अनियमिततासँग मात्र नभई गरिब, अशक्त तथा अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर अपराध भएको उल्लेख गरिन्। सरकार पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न प्रतिवद्ध रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले नयाँ पुस्ता (जेनजी) को सक्रिय भूमिका पनि प्रशंसा गरिन्। कानुनी पुस्तकमा मात्र नभई व्यवहारिक परिणाममा आधारित मानव अधिकारका मुद्दामा उनीहरूको चासो महत्वपूर्ण रहेको बताउँदै सामाजिक सञ्जालमार्फत गरिने खबरदारीलाई लोकतन्त्रको सुन्दर अभिव्यक्ति भनेर व्याख्या गरिन्।
उनका अनुसार सरकार युवाको डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनशीलता नीति निर्माण तथा कार्यान्वयनमा समाहित गर्न दृढतापूर्वक अघि बढिरहेको छ।









प्रतिक्रिया