२०८१ का पद्मश्री पुरस्कार प्रदान, गौरव, साधना र साहित्यमा तीन विद्वान सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — २०८१ सालका लागि पद्मश्री गौरव, पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्रदान गरिएको छ। कार्यक्रममा प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान, र संस्मरणात्मक कृति ‘छालबाटो’का लागि लेखक एवम् पत्रकार रमेश भुसाललाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको हो।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनै व्यक्तित्वलाई तीन/तीन लाख नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो। अध्यक्ष लामिछानेले साहित्य, कला र संस्कृतिका साधकहरूलाई सम्मान गर्न पाउँदा संस्था आफैं गौरवान्वित भएको बताए। “यो सम्मानले उहाँहरूमा थप हौसला र ऊर्जा प्रदान गरोस् भन्ने मेरो कामना छ,” उहाँले भने।

पद्मश्री गौरव पुरस्कार प्राप्त डा. अभि सुवेदीले आफू साहित्य, कला र संस्कृतिको उपासक भएको बताउँदै “मान्छे र उसको सिर्जनाले जित्छ भन्ने विश्वास लिन्छु” भने। पद्मश्री साधना सम्मान प्राप्त प्राध्यापक रमा शर्माले नेपाली भाषा साहित्यको सेवामा आफ्नो योगदानको कदर पाउँदा खुशी व्यक्त गरिन्।

कार्यक्रममा पद्मश्री साहित्य पुरस्कार विजेता रमेश भुसालले भने, “नदी पानी मात्रै होइन, यो सभ्यता, संस्कृति र जीवन चलाउने आधार हो। नदी वरिपरि हिँड्दा देखेभेटेका पात्रहरूको कथाले यो पुरस्कार पाउँदा धेरै खुशी छु।”