काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय मातहतका निकायहरूलाई शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन स्पष्ट निर्देशन दिएका छन्। बुधबारको बैठकपछि उनले तीन मुख्य बुँदा सार्वजनिक गर्दै सुधारका कदमहरूको रूपरेखा प्रस्तुत गरेका हुन्।
उनका अनुसार, नास्टमा २ घण्टासम्म छलफल र ल्याब अवलोकन गरिएको थियो। ३७ करोड रुपैयाँको बजेटमा २७ करोड प्रशासनिक खर्चमा र १० करोड अनुसन्धान तथा नवप्रवर्तनमा छुट्टाइएको रहेछ। मन्त्री पुनले नास्टलाई उच्चस्तरीय अनुसन्धान केन्द्र बनाउने सुझाव यस हप्ताभित्र कार्यरत सबैलाई दिन निर्देशन दिएका छन्। उनले भवन र ल्याबको स्तर अनुसार उच्चकोटीको काम हुनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै, शिक्षा तथा मानव श्रोत विकास केन्द्रसँग सम्बन्धित निर्देशनमा शिक्षक दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयहरू मर्ज गर्ने, योग्य प्रधानाध्यापकको नियुक्ति गर्न देशभर लागू हुने कार्यविधि बनाउने, र अनलाइन शिक्षाका लागि डिजिटल शैक्षिक सामग्री निर्माणमा जोड दिनेजस्ता कदम समावेश छन्।
पाठ्यक्रम विकास केन्द्रसँगको छलफलमा मन्त्री पुनले सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रम विकासमा गम्भीर काम गर्न, पाठ्यक्रमको समयमै परिमार्जन र अध्यावधिक गर्न, मातृभाषाका पाठ्यपुस्तक विकासमा सहयोग पुर्याउन र पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास तथा संविधान सम्बन्धी ज्ञान दिन उच्च प्राथमिकता दिन निर्देशन दिएका छन्।









प्रतिक्रिया