काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर **बालेन्द्र शाह (बालेन)**ले आफ्नै सचिवालय सदस्यहरू मार्फत नयाँ राजनीतिक दल ‘देश विकास पार्टी’ दर्ता गर्ने तयारी गरेका छन्। मेयर बालेनले सुरुमा ऊर्जामन्त्री कुलमान घिसिङसँग सहकार्यमा पार्टी खोल्ने तयारी गरे पनि अन्ततः समझदारी नमिलेपछि बालेननिकट टोली अलग भएको बुझिएको छ। सुरुमा ‘उज्यालो नेपाल’ नाम राख्ने योजना भए पनि अहिले नयाँ दल सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने तयारीमा रहेको स्रोतको दाबी छ। बालेननिकट एक सदस्यका अनुसार, “कुलमान घिसिङले पार्टीका लागि नागरिकता लगायतका कागजात मागे पनि हामीबाट कोही गएनौं। अन्ततः समझदारीमा प्रश्न उठेपछि हाम्रो टोली ब्याक भयो।”
स्रोतका अनुसार कुलमानले पार्टीको नाम र संरचनामा लचिलो हुने भने पनि अन्तिममा एकल निर्णय गरेको कारण सहकार्य असफल भयो। अहिले बालेन पक्षले नयाँ दल दर्ताका लागि तयारी तीव्र बनाएको छ। उक्त दलको प्रस्तावित चुनाव चिह्न ‘लौरो’ राखिएको बताइएको छ, तर यो चिह्न हाल ‘हामी नेपाली पार्टी’सँग दर्ता छ। सचिवालय सदस्य सुदीप ढकालले भने औपचारिक निर्णय अझै नभएको स्पष्ट पारेका छन्। “अहिलेसम्म कुनै औपचारिक निर्णय भएको छैन, तर राजनीतिक गतिविधि गर्ने सम्भावना खुला छ,” उनले भने।
ढकालले थपे, “हामीले पारदर्शिता र जवाफदेहिता चाहेका थियौं, तर कुलमानसँगको छलफलमा यी पक्षहरू कमजोर देखियो, धेरै कुरा अस्पष्ट राखियो।” यसबीच, बालेन पक्षले साँझसम्म दल दर्तासम्बन्धी ठोस निर्णय आउन सक्ने संकेत गरेको छ। नयाँ दलले महानगरस्तरको राजनीति पार गर्दै राष्ट्रिय राजनीतिको वैकल्पिक मोर्चा बन्ने तयारी गरेको बताइएको छ।









प्रतिक्रिया