काठमाडौं — तुइन खोला नजिक झरेको पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड फेरि सञ्चालनमा आएको छ। तुइन खोला पुल नजिकै बिहीबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, तयारी अवस्थामा रहेका मेसिनमार्फत पहिरो हटाउने कार्य तीव्र गतिमा अघि बढाइएपछि सडक आधा घण्टामै सञ्चालनमा आएको हो। अहिले उक्त सडकखण्डमा सवारीसाधन सहज रूपमा चलिरहेका छन्।
सडक डिभिजन भरतपुरले जारी गरेको सूचनामा भनिएको छ,
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै माथिबाट ढुंगा झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ। ढुंगाहरू झर्ने क्रम रोकिएकाले मेसिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ।”
बर्षातसँगै मुग्लिन–नारायणगढ सडकमा बारम्बार पहिरो खस्ने क्रम जारी रहेकाले सो मार्ग हुँदै यात्रामा निस्किँदा यात्रुलाई सावधानी अपनाउन सडक डिभिजनले आग्रह गरेको छ।









प्रतिक्रिया